एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १२ : ५५
एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ दलकै सांसदले माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको काण्डको रुपमा परिचित एनसेल प्रकरणको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने,‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’

एनसेलको सेयर खरिद बिक्रीमा अरबौंको कर छली भएको आशंकापछि सरकारले पूर्व महालेखापरीक्षक टंकमणि हर्मा दंगालको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन गत महिनानै सरकारलाई बुझाईसकेको छ । छानबिन समितिले प्रतिवेदन बुझाएपनि सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस