गाँजासहित चारजना पक्राउ, पौने चार लाख नगद पनि बरामद

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १० : ४१
गाँजासहित चारजना पक्राउ, पौने चार लाख नगद पनि बरामद

सर्लाही । प्रहरीले सर्लाहीका दुई फरक ठाउँबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्।

सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

बागमती नगरपालिका- ११ को भित्री सडकमा आइतबार राति प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरले जनाएको छ। प्रहरी सुराकीको आधारमा घटनास्थलमा पुगेको थियो। 

पक्राउ पर्नेमा बागमती- १२ का चमारसिंह घिसिङका छोरा १९ वर्षीय निशान घिसिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ६ का दुर्गाबहादुर मोक्तानका छोरा १८ वर्षीय मानव मोक्तान र हरिहरपुरगढी गाउँपालिका- ४ का आशमान लामाका छोरा १९ वर्षीय रुपेश लामा छन्। 

प्रहरीका अनुसार निशान र मानव मोटरसाइकमा सवार थिए भने रुपेश उनीहरुको समूहका सदस्य भएको डीएसपी पञ्जियारले बताए। रुपेशलाई प्रहरीले बागमती- ११ पुतली चोकबाट पक्राउ गरेको हो। 

त्यसैगरी हरिवन नगरपालिका- १० निवासी कुलध्वज घिसिङकी पत्नी ५३ वर्षीया फुलमाया घिसिङलाई पनि गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

उनले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलबाट गाँजा बिक्री गर्दै आएको दाबी प्रहरीको छ। 

उनको पसलबाट कागज र प्लास्टिकमा पुरिया र पोका बनाएर बिक्रीका लागि राखिएको ४६ पुरिया गाँजा (३३५ ग्राम) र ३ लाख ७९ हजार ३२५ रुपैयाँसमेत बरामद गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। उक्त रकममो स्रोत खुलेको छैन। 

प्रतिक्रिया दिनुहोस