आगामी आगामी आर्थिक वर्षको बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १५ : ४६
आगामी आगामी आर्थिक वर्षको बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड

धनुषा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताएका छन् ।धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नम्बर ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने उनले बताए ।

आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उनले बताए ।यस्तै, उनले तराईमा सिँचाइ, मल बिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताए ।

नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने बताए ।

'मधेशको विकासबिना देशको विकास सम्भव छैन, मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव छैन', प्रधानमन्त्री प्रचण्डले भने, 'मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।'

मधेश, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

'मधेश, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ', उनले भने ।चालीस वर्ष अगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उहाँले सबैला, वस्तीपुरलगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे ।

सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए ।उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताए।  प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेको छ ।यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस