रकम असुल्दै गर्दा बनेपाबाट दुईजना नक्कली बजार अनुगमनकर्ता पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, ०९ : ०८
रकम असुल्दै गर्दा बनेपाबाट दुईजना नक्कली बजार अनुगमनकर्ता पक्राउ

काठमाडौ । प्रहरीले काभ्रेबाट दुईजना नक्कली बजार अनुगमनकर्तालाई पक्राउ गरेको छ। 

बनेपा नगरपालिका ५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै पसलेहरुलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायक नगरपालिका- ७ का ५० वर्षीय वासुदेव न्यौपाने र काठमाडौँ महानगरपालिका- २९ घर भई हाल भक्तपुरको सूर्यबिनायक- ७ मै डेरागरी बस्ने ५२ वर्षीय रोशन पोखरेल छन्।

उनीहरुको साथबाट उपभोक्ता मञ्च नेपालको नाममा बनाइएका परिचयपत्र, मोवाइल तीन थान, ३५ सय रुपैयाँ नगदसहितका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

बिहीबार दिउँसो बनेपा ५ मा रहेका बेकरी पसलमा पुगेर उनीहरुले आफूहरू उपभोक्ता हित संरक्षण मञ्चबाट बजार अनुगमनको लागि आएको भन्दै पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्रसहतिका कागजात मागेका थिए। 

बेकरी पसल सञ्चालकहरुले आफ्ना कागजपत्र मोबाईलमा देखाउँदा उनीहरुले ‘पसलमा किन नराखेको? तपाईंलाई कारबाही हुन्छ, पसल सिल गरिदिन्छु’ भन्दै डरत्रास देखाएका थिए।

प्रहरीका अनुसार पसल सिल नगर्न र थप कारबाही हुनबाट जोगिने भए १५ हजार रुपैयाँ लाग्ने भन्दै उनीहरुले रकम माग गरेका थिए। 

पसलेहरुले ‘गल्ती गरेको छैन, रकम दिन सकिँदैन’ भन्दा उनीहरुले ‘उसो भए १० हजार रुपैयाँ मात्रै भए पनि दिनुपर्ने’ भन्दै दबाब दिएका थिए। 

त्यसक्रममा उनीहरु एउटा पसलबाट यसअघि नै १० हजार रुपैयाँ असुल समेत गरेको पाइएको प्रहरीले जनाएको छ। 

बिहीबार एउटा पसलमा धम्क्याएर अर्को पसलमा प्रवेश गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु उपभोक्त संरक्षण मञ्चको कुनै पनि जिम्मेवार पदमा नरहेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुको साथमा भेटिएको परिचयपत्र समेत नक्कली रहेको पाइएपछि मुलुकी अपराध संहिता २०७४ अनुसार प्रहरीले उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ। 

बिहीबार जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस