चितवन । भरतपुर महानगरपालिकाको सप्ताहव्यापी सरसफाइ कार्यक्रमअन्तर्गत आज महानगरभित्रका सम्पूर्ण सार्वजनिक संस्थाहरु तथा पार्कहरुको सरसफाइ गरिएको छ । महानगरपालिकामा रहेका सम्पूर्ण सार्वजनिक संस्थाहरु पार्कहरु सरसफाइ कार्यक्रममा महानगरवासीको उल्लेख्य सहभागिता थियो ।
भरतपुर महानगरपालिकाले यसअघि सप्ताहव्यापी सरसफाइ कार्यक्रम अन्तर्गत शैक्षिक संस्थाहरु सरसफाइ र महानगर प्रमुख रेनु दाहालको उपस्थितिमा नारायणगढको मुख्य राजमार्गको बीचको क्यारी सरसफाइ तथा बिरुवा रोप्ने काम भएको थियो ।
महानगरलाई सफा, स्वच्छ बनाउँछु : रेनु दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने अभियान जारी रहेको बताइन् । विश्व सरसफाइ दिवस मनाउने सन्दर्भमा महानगरमा विविध सरसफाइका कार्यक्रम भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘भरतपुरलाई देशकै सरसफाइमा नमुना बनाउनको लागि विश्व वातावरण दिवसको अवसरमा साताव्यापी सरसफाइको कार्यक्रम घोषणा गरेका छौँ । अहिले साताव्यापी अभियान जारी रहेको छ ।’ उनले सप्ताहव्यापी कार्यक्रममा मात्र नभई सबै नगरवासीलाई सधैँ सरसफाइमा जुट्न आग्रह गरिन् । स्मार्ट सिटीको अवधारणालाई साकार बनाउन पहिला महानगरलाई सफा स्वच्छ र हराभरा बनाउनुपर्ने हुनाले यस कार्यमा सबै नगरवासी जुट्नुपर्ने उनको भनाइ थियो ।
भरतपुर महानगरपालिकाभित्रका वडा नं. ७, ११ र २१ वातावरणमैत्री घोषणा भइसकेका छन् । प्रमुख दाहालले बाँकी वडाहरु पनि वातावरणमैत्री बनाउँदै लैजाने बताइन् । उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोजिएको बताइन् ।

भरतपुरलाई हराभरा, सुन्दर, सफा र स्वच्छ महानगर बनाउन छिटै कोरियन कम्पनीसँग सम्झौता गर्ने तयारी भइरहेको उनी बताउँछिन् । प्रमुख दाहालले भनिन्, ‘हामीले महानगरलाई जसरी पनि हराभरा, सुन्दर र सफा बनाउन खोजिरहेका छौँ, यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’
विश्वका १५० भन्दा बढी राष्ट्रमा एकैदिन हुन लागेको विश्व सरसफाइ दिवस नेपालमा पनि ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ मनाइएको छ । भदौ २४ देखि ३० गतेसम्म देशभर सरसफाइका सव्ताहव्यापी कार्यक्रम भइरहेका छन् । सोही कार्यक्रमलाई भरतपुर महानगरपालिकाले पनि भव्यताका साथ महानगरलाई सफा र सुन्दर बनाउन सरसफाइको कार्यक्रम गरिरहेको छ ।
सरसफाइ थप कार्यक्रम
भदौ २७ गते– धार्मिक स्थल सफाइ दिवस (सम्बन्धित वडामा रहेका स्थानमा सरसफाइ)
भदौ २८ गते– नदीनाला तथा जलाशय सफाइ दिवस (महानगर स्तरीय नारायणी नदी सफाइ कार्यक्रम बिहान ७ देखि ९ बजेसम्म)
भदौ २९ गते– सडक सफाइ दिवस (सम्बन्धित वडामा रहेका सडकमा सरसफाइ)
भदौ ३० गते– वृहद सफाइ दिवस (महानगरका मुख्य राजमार्ग सरसफाइ कार्यक्रम पोखरा बसपार्कदेखि गोन्द्राङचोकसम्म । समय बिहान ७ देखि ९ बजेसम्म)
यो पनि पढ्नुहोस्,
प्रतिक्रिया दिनुहोस