प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग माधव नेपालले गरे सहकार्यको प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १२ : २२
प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग माधव नेपालले गरे सहकार्यको प्रस्ताव

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको खाका बनाउन सहकार्यको प्रस्ताव गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देश विकासको प्रस्ताव गरेको उनले बताए ।

समाजवादी इन्जिनियरिङ एसोसियसन, मधेश प्रदेश समितिले सोमवार जनकपुरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले देश विकासको मार्गचित्र बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष ओलीसँग देश विकासको मार्गचित्र बनाउन प्रस्ताव गरेका हुन् ।

‘नेपालमा कति वटा हवाई मैदान चाहिन्छ ? कहाँ के गर्नुपर्छ भन्ने कुराको सामरिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु ।

हामी बसौं । अनुभव भएकाहरू बसौं । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरू । विज्ञहरू सबै बसौं । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरौं । देश विकासको मार्गचित्र बनाऔँ हामी’, नेता नेपालले भने ।

नेकपा एमाले विभाजन भएपछि नेता नेपालले पहिलो पटक ओलीसँग कुनै विषयमा सहकार्यको प्रस्ताव राखेका हुन् । नेकपा कालदेखि नै दुई नेताबीच कटुतापूर्ण सम्बन्ध छ । उनीहरुले एक अर्काको विरुद्ध बोले पनि सहकार्यको प्रस्ताव राखेको बाहिर आएको थिएन । 

नेता नेपालले ओलीसँग सो प्रस्ताव कुन मितिमा राखेको भन्नेबारे भने केही खुलाएनन् । प्रचण्ड र नेपाल अहिले सत्ता गठबन्धनमा छन् भने एमाले प्रतिपक्षमा पुगेको छ ।​तीन वर्ष अघि नेकपा विभाजन भएपछि तीन कित्तामा पुगेका कम्युनिस्ट पार्टीबीच पुनः एकताको लागि तेस्रो तहका नेताहरूबीच गृहकार्य चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस