आफ्नो पढाइ सकेपछि अरुलाई पढाउने मनोजको चाहना

मंगलबार, २६ भदौ २०७५, १२ : २२
आफ्नो पढाइ सकेपछि अरुलाई  पढाउने मनोजको चाहना

शान्ता अधिकारी
चितवन ।
मनोज मुडवरी १२ वर्षका भए । उनको घर गोरखा अस्राङमा हो । पिस जोन आवासीय विद्यालय कृष्णपुरमा कक्षा ६ मा पढ्छन् । बुबाको अनुहार अहिलेसम्म देख्न पाएका छैनन् । आमा मामा घरमा हुनुहुन्छ । उनको विगत दुःखमा बित्यो, तर अहिले उनी खुसी छन् ।
मनोजको दुःखमा मलमपट्टी लगाउँदै हाँसो थप्ने काम भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको सिर्जनशील समाज नेपालले गरेको हो । मनोज भन्छन्, ‘म निकै खुसी छु । आफ्नो घरमा यतिको खान र लाउन पाएको थिइन । आमाले अरुको घरमा काम गर्नुहुन्छ । हामी गरीब भएकै कारण दाइले पढ्न पाउनु भएन । अहिले दाइ मामा घर फुजेलमा बसेर काम गर्नु भएको छ । हामीलाई सबैले हेला गर्छन् । गरीब भएर होला । अब म यहाँबाट पढेर गएपछि गाँउमा पढाउँछु ।’
मनोजजस्तै विभिन्न कारणले अभिभावक गुमाएका र गरीब परिवारका १९ जना बालबालिका आवासीय सुविधासहित यहाँ अध्ययन गरिरहेका छन् ।  गोरखा, बुटवल, नवलपरासी र चितवनबाट आएका यी बच्चाहरुको भविष्को सुनिश्चितताका लागि संस्थाले दातासँग दीर्घकालीन सम्झौता गरेको संस्थाका अध्यक्ष विनोद ढकाल बताउँछन् । उनी भन्छन्, ‘स्वीजरल्याण्डमा रहेको भोलेन्टीयर संस्थाले समय समयमा आएर अनुगमन गर्ने र सहयोग गर्ने गरेको छ । राम्रोसंग शिक्षा दिने उद्देश्यले हामीले अहिले १९ जना बाबु नानीलाई अध्ययन गराइरहेका छौँ । यिनीहरुलाई कक्षा १२ सम्म पढाउने जिम्मा हामीले लिएका छौँ ।’
२०५९ सालमा स्थापना भएको संस्थाले सबै विद्यार्थीको लागि बस्न, खान, पढ्ने खर्चको व्यवस्था गरेको छ । बुबाआमाको काख गुमाएका वा जोखिममा परेका बालबालिकाको संरक्षण गर्नु नै संस्थाको उद्देश्य रहेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस