नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८ उडान हुने

सफल खबर संवाददाता

शनिबार, २७ माघ २०८०, १४ : ३३
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८ उडान हुने

काठमाडौं। ​​नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच  हवाई सेवा सम्झौता भएको हो ।

 

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताए ।

उनका अनुसार ती उडानमध्ये काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ।

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । 'अहिलेलाई २/२ वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ', सहसचिव लामिछानेले भने ।

नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।​​

इन्डोनेसियासँगहवाई सम्झौताको तयारी

सरकारले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ ।उक्त मुलुकसँग पनि हवाई सम्झौताका लागि समन्वय भइरहेको मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए ।​

त्यसैगरी रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।