भानु साहित्य उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १२ : ४९
भानु साहित्य उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा निर्माण गर्न लागिएको साहित्यिक उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । भानु नगरपालिकाले वडा नं ४ चुँदीरम्घामा साहित्यिक उद्यान निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम सुरु गरेको हो ।

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थानका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले नगरपालिकालाई रु पाँच करोड बजेट उपलब्ध गराएको थियो ।  उक्त बजेटबाट जग्गा प्राप्ति, गुरुयोजना, भानुभक्त आचार्यको शालिक, अन्य कवि, साहित्यकार र कलाकार स्रष्टाको शालिक, पहुँच मार्गलगायत पूर्वाधार निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

उनका अनुसार जग्गा अधिग्रहणका लागि नगरपालिकाले आजदेखि १५ दिनभित्र जग्गाधनीले लालपुर्जालगायतका आवश्यक प्रमाणसहित वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिने पौडेलले जानकारी दिए । उद्यान निर्माणका क्रममा आवश्यक गुरुयोजना बनाउन, जग्गा अधिग्रहणलगायत कामका लागि पालिकाले सहजीकरण समिति गठन गरेको छ । 

भानुभक्त साहित्य उद्यानका उपाध्यक्ष डा ब्रतराज आचार्यको संयोजकत्वमा जग्गा प्राप्ति सहजीकरण समिति गठन भएको हो । सदस्यमा श्रीभक्त आचार्य, लक्ष्मी आचार्य, प्रेम राना, ऋषिराम पन्त, अर्जुन बोहरा, केशवराज त्रिपाठी, नहकुल अधिकारी, खुमप्रसाद श्रेष्ठ वृन्दा रानाभाट, रामकुमार श्रेष्ठ, जयहरी ढकाल रहेका छन् ।

यस ठाउँलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनले भने, “भानु जन्मस्थलको विकास र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यो कामलाई अगाडी बढाउन लागिएको हो ।”

जग्गा अधिग्रहण भएपछि गुरुयोजना निर्माण गरी गुरुयोजनाअनुसार नै साहित्य उद्यानको काम अगाडि बढ्ने त्रिपाठीको भनाइ थियो । उनले भने, “भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरी यसको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएका छौँ ।”उद्यान समितिका अध्यक्ष डा.जयराज आचार्यले समितिले उद्यान निर्माणका लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस