बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १४ : ५३
बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । वडा अध्यक्ष शिव कुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् ।

‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्यक्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

उनले यो काममा सहयोग गरिदिन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीहरूलाई अनुरोध समेत गरेका छन् । यसअघि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले दुःख दिएको भन्दै रुख काट्ने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि उक्त वडा पछि हटेको छ ।