काठमाडौं। मनिला–फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा मङ्गलवार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये ४५ जनालाई उद्धार गरिएको एक सैनिक प्रवक्ताले बुधवार जानकारी दिएका छन् ।
जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओको एक प्रान्त डिभाओ दी ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।
सेनाको पूर्वी कमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै यपचारका लागि पठाउने तयारी भइरहेको छ ।
बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास जारी रहेको एपेक्स माइन्स फर्मलाई उद्धृत गर्दै उनले भने, ‘घटनास्थलनजिकै रहेका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण कैयौ अन्य व्यक्ति प्रभावित भएका छन् ।’
सैनिक प्रवक्ताले भने, ‘सडकहरू अगम्य छन् भने यस क्षेत्रमा कुनै फोन टावरको सङ्केत नरहेको कारण सेनाले रेडियो सम्पर्क स्थापित गर्न र खोजी र उद्धार कार्यमा मद्दत गर्न टोलीहरूलाई तैनाथ गरेको छ ।’
प्रान्तीय प्रकोप रोकथाम एजेन्सीका एड मकापिलीले रेडियो अन्तर्वार्तामा जनाएअनुसार बुधवार बिहानै पहिरोमा परेकाहरूको उद्धार कार्य पुनः शुरू गरिएको छ । दाभाओ दी ओरो प्रान्तको तटीय खानी शहर माकोको एउटा खानीस्थल नजिकै स्थानीय समयअनुसार मङ्गलवार साँझ ७ः५० बजे पहिरो गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु
ऊर्जा सङ्कटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो