रोल्पाका विकट गाउँमा बल्यो बिजुली

रासस

सोमबार, २२ माघ २०८०, १५ : ५५
रोल्पाका विकट गाउँमा बल्यो बिजुली

काठमाडौँ। रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो । ३३ केभीए प्रसारण लाइनमार्फत वितरण भएको उक्त बिजुलीले दुवै गाउँका एक हजारभन्दा बढी घरमा विद्युत् सेवा पुगेको नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले स्विच दबाएर विद्युतीकरणको औपचारिक उद्घाटन गरे । उक्त अवसरमा पूर्वऊर्जामन्त्री पुनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनजीवनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ छ ।

‘यसअघि गाउँमा बाटो आयो, शहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो । अब विद्यार्थीले टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरूले साधनस्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने बताए ।

विकासका काममा अति राजनीतीकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।