सविरको निर्देशनमा फिल्म ‘रुखान’ बन्ने

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, ११ : ०४
सविरको निर्देशनमा फिल्म ‘रुखान’ बन्ने

काठमाडौंँ । सविर श्रेष्ठको निर्देशनमा नयाँ ‘रुखान’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको घोषणा गर्दै ४ भाषामा निर्माण हुने सार्वजनिक गरेको हो । फिल्म नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुनेछ ।

कृष्ण थापा (अस्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माणमा आवरण स्किन एन्ड हेयर क्लिनिकले पनि सहकार्य गर्नेछ । 

घोषणासँगै फिल्मको फस्टलुक समेत बाहिर ल्याइएको छ । जसमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विर समेत समावेश गरिएको छ । फस्टलुकले यो फिल्मले आम नागरिकको समस्याको कथा बोल्ने संकेत गर्छ । 

‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ’ फिल्मको विषयमा निर्देशक सविर श्रेष्ठले भने । फिल्मको कलाकारहरू छनौटको क्रममा छ । फिल्मको कलाकार र प्राविधि छिट्टै फाइनल गरेर फिल्म फ्लोरमा लैजाने निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस