बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १८ : १६
बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’


भरतपुर । भरतपुर १५ का तीन वर्षीय बालक सलिन विकको सर्पले डसेर मृत्यु भएको घटनालाई भरतपुर अस्पतालले ‘मानवीय त्रुटि’ भनेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौर, भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीलगायतको टोली आइतबार घटनाको विषयमा वास्तविक तथ्य कुरा बुझ्न भरतपुर अस्पताल पुगेका थिए । उनीहरुलाई भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रविन खड्का, मेडिकल डिपार्टका इन्चार्ज डा विजय पौडेललगायतको टोलीले अस्पतालबाट भएको ‘मानवीय त्रुटि’ले बालकको मृत्यु हुन पुगेको जनाएको छ । अस्पतालले बालकको मृत्युप्रति दुःख प्रकट गरेको छ ।  
सर्पले डसेपछि नाति सलिनलाई उपचारको लागि बाजे बलराम विक बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुग्दा पनि उपचार पाएनन् । अन्ततः बालकको मृत्यु भयो । मेडिकल सिटीको रुपमा विकास भइरहेको भनिए पनि भरतपुरका चार ठूला अस्पतालले सर्पले डसेको बालकको उपचार गर्न मानेनन् । एक अस्पतालले अर्का अस्पताल रिफर गर्दागर्दै बालक सलिनको प्राणपखेरु उड्यो ।
करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् । अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर नातिको ज्यान बचाउन नसकिएको बाजे बलराम विक बताउँछन् । उनी बालकलाई लिएर सुरुमा भरतपुर अस्पताल नै पुगेका थिए । भरतपुर अस्पतालले आईसीयू खाली नभएको भन्दै भरतपुरका मेडिकल कलेजहरुमा रिफर ग¥यो । अन्ततः मेडिकल कलेजहरुले पुनः आफूसँग सर्पले डसेको एन्टिभेनक सुई नभएको भन्दै पुनः भरतपुर अस्पतालमै रिफर गरे । अस्पताल चाहार्दाचाहर्दै बालक सलिनको ज्यान गयो । 

भरतपुर अस्पतालको लापरबाही : मेयर रेनु 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले घटनामा भरतपुर अस्पतालको गम्भीर लापरबाही भएको बताएकी छन् । घटनाको वास्तविक तथ्य बुझ्न भरतपुर अस्पताल पुगेकी दाहालले भरतपुर अस्पतालको लापरबाही भएको बताइन् । उनले भनिन्, ‘सर्पले डसेको बालकलाई भरतपुर अस्पताल ल्याइसकेपछि किन अन्त रिफर गरियो, सरकारले सर्पले डसेको एन्टिभेनक सुई भरतपुर अस्पतालमा मात्र पठाउँछ । यहाँबाट रिफर गरिनु नै लापरबाही हो ।’
मेयर रेनु दाहालले गल्ती गर्ने जोकोही भए पनि विभागीय कारबाही गर्न निर्देशन दिएकी छन् । उनले भनिन्, ‘लापरबाही हो, दोषीलाई विभागीय कारबाही गर्न पछि नपर्नुहोस् । यस घटनाबाट पाठ सिक्नूस् ।’ 
उनले भरतपुर महानगरलाई मेडिकल सिटीको रुपमा विकास गरिरहँदा यस्ता घटना हुँदा असह्य पीडा भएको बताइन् ।

 स्पष्टीकरण माग 
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बालकको उपचार नगरी रिफर गर्ने सबै अस्पतालसँग लिखित स्पष्टिकरण मागिएको बताए । उनले भने, ‘घटनामा बिरामी रिफर गर्ने अस्पतालहरुको पनि गल्ती भएको छ, किन बिरामी रिफर गर्नुभयो भनेर हामीले लिखित स्पष्टिकरण मागेका छौँ ।’ 
 
 

प्रतिक्रिया दिनुहोस