उद्योग वाणिज्य संघद्वारा जनकपुरधाम बन्द गर्ने घोषणा

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १० : ०९
उद्योग वाणिज्य संघद्वारा जनकपुरधाम बन्द गर्ने घोषणा

जनकपुरधाम । उद्योग वाणिज्य संघ, जनकपुरधामले सुनचाँदी व्यवसायीलाई पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्ने घोषणा गरेको छ ।

संघले व्यवसायीमाथि झुटो आरोपमा मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित आइतबार (भोलि) मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने भएको छ । ज्ञापनपत्र बुझाउनकै लागि आइतबार दिउँसो २ बजेसम्मका लागि संघले बजार, उद्योग र व्यवसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीको व्यवहारले उद्योगी, व्यवसायी असुरक्षित महसुस भएको बताए । उनले राजश्व छलेको आरोपमा व्यवसायीहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा झुटा मुद्दा लगाएको दाबी गरेका छन् ।

‘प्रहरीको नियत गलत देखिएको छ । उनीहरुमाथि कारबाही हुनुपर्छ’ उनले भने, ‘यसका लागि मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख र सीडीओलाई ज्ञापनपत्र बुझाउँदै छौँ ।’ बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरु बलराम साह र अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय शाह सोनार र संजय शाह सोनारलाई पक्राउ गरेको थियो ।

उनीहरु धरौटीमा रिहा भइसकेका छन् । राजश्व कार्यालय पथलैयाले बलरामबाट ७ लाख ८० हजार ९७०, अरुणबाट ४ लाख २७ हजार ३२५, सञ्जयबाट ७ लाख ८० हजार ७०८ र अजयबाट ४ लाख २७ हजार ३२५ रुपैयाँ धरौटी लिएर छाडेको हो ।