१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, ०८ : २८
१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । 

अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । 

जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।

गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ । 

जसअनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्नेछ र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने व्यवस्था गरिएको छ ।  

राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगेपनि त्यसउपर समयमै राय प्रतिक्रिया तथा सहमति प्रदान नगर्ने र सो ढिलासुस्तीका कारण विकास निर्माण, कानून निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कामहरूमा असर परेपछि मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो । 

यसले कुनैपनि मन्त्रालयलाई मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन सहज भएको छ । यसले सरकारका गतिविधिमा हुँदै आएको ढिलासुस्ती कम हुँदै गएको छ ।यसले विभिन्न मन्त्रालयले अन्य मन्त्रालयलाई दिनुपर्ने रायका विषयमा झुलाएर राख्ने प्रवृद्धि कम हुँदै गएको छ । 

प्रधानमन्त्रीको सक्रियतामा भएको उक्त निर्णयपश्चात अन्तरमन्त्रालय कार्यमा गति पैदा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।उनले भने,‘अब काम हुन्छ वा हुन्न भन्ने स्पष्ट खुलाउनपर्ने हुन्छ, विगतमा जस्तो ढिलासुस्ती गर्न पाइन्न ।’

विगतमा छ महिना वर्ष दिनसम्म पनि परामर्श नदिने अवस्था रहेको गुनासो आउने गरेमा त्यो समस्या अन्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रधानमन्त्री कार्यालयमा निर्णय आएको जानकारी दिँदै विकास निर्माणमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस