चितवनमा धमाधम पुराना घरको नक्सा पास हुँदै

सुमन गैरे

आइतबार, २४ भदौ २०७५, ०९ : ५५
चितवनमा धमाधम पुराना घरको नक्सा पास हुँदै

चितवन  । लामोसमयदेखि घर तथा संरचना बनाएर नक्सा पास नगरेका व्यक्तिहरुले तोकिएको मितिभित्र निवेदन पेस गरेमा नक्सा पासको प्रमाणपत्र पाउने भएका छन् ।

भरतपुरमहानगरपालिकाले नक्सा पास नभएका पहिले बनेका भवनहरुको घर नक्शा पास र भवन अभिलेखीकरणको लागि दोस्रो पटक सूचना जारी गरेको छ । महानगरले २०७४ साल असोज २९ गते अघि बनेका सरकारी भवन, संघसंस्था, सामुदायिक तथा निजी विद्यालय भवन, निजी घर, टहरा र कुखुराको खोरको नक्सा बनाइ पास गर्न ३५ दिनभित्र निवेदन आह्वान गरेपछि उनीहरुको नक्सा पास हुने भएको हो ।

नक्सा पास गर्न बाँकी रहेका झन्डै ३५ हजार भवनमध्ये ७ हजारको विगत वर्षमै निवेदन परेको प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले बताए । पहिले निवेदन दिएकाहरुको कामकारवाही तत्कालै सुरु गर्ने उनको भनाइ छ । भरतपुर महानगरको नक्सासम्बन्धी कार्यविधि अनुसार नक्सापासको प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

पुराना घरहरुको नक्सा पास गरेर प्रमाणपत्र लिँदा साविक उपमहानगर क्षेत्रभित्रका घरधनीले तोकिएको दस्तुरमा तेब्बर जरिवाना तिर्नुपर्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर सहदेव बहादुर भण्डारीले बताए । तर साविकको कविलास गाविस (हालको भरतपुर–२९) लाई जरिवानाको तीन गुणाको ७० प्रतिशत र चित्रवन र नारायणी नगरपालिका (हालको भरतपुर वडा नं. २० र २९) लाई ५० प्रतिशत छूटको व्यवस्था गरिएको पनि इन्जिनियर भण्डारीले जानकारी दिए । तर यो छूट व्यापारिक प्रयोजनका भवनहरुले भने पाउने छैनन् ।

आरसीसी घरको हकमा एक हजार वर्ग फिटसम्मका एक तलादेखि ४ तलासम्म प्रति वर्गफिट १० रुपैयाँ देखि १३ रुपैयाँ लोडवेरिङ भएका दोस्रो तलासम्मका घरलाई प्रति वर्गमिटर ५ देखि ९ रुपैयाँ राजस्व तिर्नुपर्ने महानगरको राजस्व शाखाका प्रमुख जगन्नाथ अर्यालले बताए ।

त्यसैगरी सिमेन्ट ब्लक ६ इन्चको पर्खाल जस्ता छाना, अस्थायी टहरा, गोदाम, कुखुराको घरको नक्सा पासको लागि प्रति वर्गफिट ३ रुपैयाँदेखि १० रुपैयाँसम्म राजस्व लाग्ने उनले जानकारी दिए । नक्सा र प्रमाणपत्रको दस्तुर ९ सय ७५ रुपैयाँ र नक्सा पास प्रमाणपत्र मात्र ५ सय ७५ दस्तुर तोकिएको छ । भूकम्पपीडितलाई भने जुनसुकै ठाउँमा भए पनि नक्सापास दस्तुरमा छूट दिइने बताइएको छ । महानगरपालिकामा पर्ने रिङ तथा लिंक रोडको साँध सिमाना रेखांकन भएको स्थानमा मात्र सोही रोडलाई आधार मानी नक्सा स्वीकृति गरिने महानगरका इन्जिनियर सूर्यप्रकाश लामाले बताए । अन्य ठाउँमा महानगरले तोकेको सडकज्ञको मापदण्डमा बनाइएको घरहरुको मात्र नक्सा पास गरिने इन्जिनियर लामाले जानकारी दिए ।

नक्सापासको लागि निवेदन आएपछि जनप्रतिनिधिहरुको रोहबरमा इन्जिनियरको टोलीले स्थलगत अवलोकन गरी प्रक्रिया अघि बढाइने बताइएको छ । प्रक्रिया पुगी आएका घरहरुको ०७६ असार मसान्तसम्म नक्सा पास गरिसक्ने योजना रहेको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस