७५ वर्षमा नागरिकता

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १३ : ५८
७५ वर्षमा नागरिकता

मोरङ। लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो ।

उनले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रूपमा समेत अशक्त छिन् ।

 

उनले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवासुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो । दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आएकी थिइन् ।

उनको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उनी नागरिकता पाउनबाट वञ्चित हुनुपरेको थियो । उनको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गरेका छन् ।

 

एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताए ।

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताए । दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण  गरे । 

प्रतिक्रिया दिनुहोस