काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

शनिबार, २३ भदौ २०७५, २० : २९
काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

तुलसीपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ । 
दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभयो । 
सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भन्नुभयो । अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उहाँले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । 
सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भन्नुभयो । उहाँले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गर्नुभयो । रासस
 

प्रतिक्रिया दिनुहोस