काठमाडौँ । कमजोर बजेट खर्चमा विकासे मन्त्रालयहरूलाई दोष दिँदै आएको अर्थ मन्त्रालय नै आफ्नो बजेट खर्चमा भने दयनीय अवस्थामा देखिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल विनियोजनको १०.०५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
चालु आर्थिक वर्ष अर्थ मन्त्रालय र मातहतका निकायका लागि ४० अर्ब ४५ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये पुस मसान्तसम्म ४ अर्ब ६ करोड ४४ लाखमात्र खर्च भएको हो ।
यसरी मन्त्रालयको खर्च कम देखिनुमा आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रम र मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सबैभन्दा ठूलो हात छ । आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रमका लागि यस वर्ष २१ अर्ब १४ करोड विनियोजन भएको छ । तर, ६ महिनामा यो शीर्षकबाट एक पैसा पनि खर्च भएको छैन ।
एमसीए नेपाललाई यसपालि १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, ६ महिनामा ५ करोडमात्र खर्च भएको छ । यी दुई कार्यक्रम/आयोजनाका कारण मन्त्रालयको खर्च प्रतिशत निकै कम देखिएको हो ।
कुल बजेट खर्च भने ६ महिनामा ३२.७५ प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.६२ प्रतिशत मात्र धेरै हो । यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । खर्च भने पुस मसान्तसम्म ५ खर्ब ७३ अर्ब ६३ करोडमात्र भएको छ ।
त्यसमध्ये चालु खर्च ४ खर्ब ४३ अर्ब ४ करोड, पुँजीगत खर्च ५० अर्ब ४४ करोड र वित्तीय व्यवस्थातर्फको खर्च ८० अर्ब १३ करोड छ । यो कुल विनियोजनको तुलनामा क्रमशः ३८.७७, १४.४३ र २७.१६ प्रतिशत मात्र हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र
अर्थ मन्त्रालयले थाल्यो आगामी वर्षको बजेट कार्यान्वयन गृहकार्य
प्रदेश र स्थानीय तहका लागि ४.१७ खर्ब बजेट, कुन स्थानीय तहमा कति ? (सूचीसहित)
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल