टिजरमा यस्तो देखियो फिल्म ‘जिग्री’

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, ११ : ३४
टिजरमा यस्तो देखियो फिल्म ‘जिग्री’

काठमाडौँ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित सुशील राज पाण्डेदेखि थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएका छन् । यसअघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकेको थियो ।

चलचित्र ‘जिग्री’मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरूसँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

चलचित्र ‘जिग्री’ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु रहेको छ ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस