काठमाडौ । द्वन्द्वकालीन माओवादीका पूर्वनेता हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटेटराईले काठमाडौँको डिल्लीबजार कारागारमा पुगेर पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर जितमान पुन (मार्शल) सँग भेट गरेका छन्।
यही माघ ७ गते जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेका पूर्वी रुकुमका पुनलाई अदालतको फैसलाअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो।
उनलाई जिल्ला अदालत दाङले २०७२ सालमै लागु औषध चरेस ओसारपसारसम्बन्धी मुद्दामा दोषी ठहर गरी २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। मार्शल हाल नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्।
डिल्लीबजार कारागार पुगेर उनलाई भेटलगत्तै डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पुन रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।
‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेसपाका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा उहाँलाई कारागारमै गएर भेटेपछि त्यसलगत्तै प्रधानमन्त्री तथा पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु’, डा. भट्टराईले शनिबार बिहान भनेका छन्।
उनले अगाडि भनेका छन्, ‘यो केस ‘बूढी (बूढो) मरी (मर्यो) हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है! सबैलाई चेतना भया!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, ०९ : ४०
लेखकबाट थप