अत्याधुनिक अटोल्यान्ड निर्माणको काम छिट्टै थालनी हुनेछ : महानगर प्रमुख दाहाल

शनिबार, २३ भदौ २०७५, ११ : ३१
अत्याधुनिक अटोल्यान्ड निर्माणको काम छिट्टै थालनी हुनेछ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले छिटै अत्याधुनिक अटोल्यान्ड निर्माण गर्ने बताउनुभएको छ । 
चितवन अटो मेकानिकल व्यवसायी संघको २२ औं दिवसको अवसरमा भरतपुर १ रामनगरमा आयोजित सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको मानव स्वास्थ्य परीक्षण कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले अटो ब्यवसायलाई व्यवस्थित ढंगले संचालन गर्न चाहेको भन्दै अत्याधुनिक अटोल्यान्ड निर्माणको काम छिट्टै थालनी हुने बताउनु भयो । 
पछिल्लो समयमा सवारी दुर्घटना समस्याको रूपमा रहेको भन्दै यसको न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरू आपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने प्रमुख दाहालले बताउनु भयो । भरतपुर बजामा सवारी साधन सडक पूर्वाधार निर्माण र यात्रुहरूलाई सचेत गराउन भरतपुर महानगरपालिकाले विशेष चासोका साथ अगाडि बढाइरहेको उहाँको भनाइ थियो । ‘महानगरपालिका योजनाबद्ध र दिगो विकासको पक्षमा रहेको छ’ उहाँले भन्नुभयो ।  
‘ठूला पूर्वाधार विकासका कामहरू रिंङरोड, लिंकरोड, सिटीहल, अटोल्यान्ड, देवघाटमा विद्युतीय शवदाह गृह निर्माण फलफूल तरकारी बजारको व्यवस्थापनलगायतका कामहरू भइरहेको बताउनुभयो । प्रमुख दाहालले फुटपाथ ब्यावस्थापन, तीन पाड्ग्रे सवारीसाधनको व्यवस्थापनले बजार क्षेत्र सुन्दर व्यवस्थित र दुर्घटना न्यूनीकरणमा सहयोगी भएको बताउनुभयो । प्रमुख दाहालले आम नागरिकको सवारी सुरक्षामा महानगरपालिकाको तीब्र चासो हुने भन्दै यसका लागि भरतपुर महानगरपालिका सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा अटोमेकानिक व्यवसायी संघले महत्वूर्ण काम गरेको बताउनुभयो । सडक, साधन र सवारीचालक स्वस्थ हुनुपर्ने भन्दै दुर्घटना न्यूनीकरणमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो । 
२ नं प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक नबीनराज राईले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि वैज्ञानिक सडक पूर्वाधार, गुणस्तरीय सवारी साधन र सचेत सवारीचालक र सचेत नागरिक हुनुपर्ने भएको भन्दै यस्ता कार्यक्रमले यस सम्बन्धी सचेतना जगाउन सहयोगी हुने विश्वास ब्यक्त गरेका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएर अगाडी बढ्नुपर्ने बताए । भरतपुर १ वडाध्यक्ष जयराम श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।  

चालकको स्वास्थ्य परीक्षण 
कार्यक्रममा १ सय ३२ गाडीको यान्त्रिक परीक्षण र ती गाडीका चालकको स्वास्थ्य परीक्षण गरिएको छ । चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम लोहनीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा चालकका आँखा परीक्षण गर्दा १५ जना चालकको आँखा कमजोर भेटिएको हुनाले उनीहरुले चस्मा लगाउनुपर्ने अवस्था रहेको अध्यक्ष लोहनीले जानकारी दिनुभयो । कार्यक्रममा हाम्रो घरका अध्यक्ष रामहरि श्रेष्ठलाई अटो मेकानिकल व्यवसायी संघले एक छाक खानाको लागि ७ हजार ५०० नगद हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस