मुड्केचुलाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत डाँगीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १६ : १४
मुड्केचुलाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत डाँगीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दीपनारायण यादव, गाउँपालिकाको वडा नम्बर  ८ का तत्कालीन कार्यवाहक  वडाध्यक्ष धनबहादुर रोकाया,तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली (दमाई),वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढासहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

स्वीकृत गरे अनुसारको लागत अनुमानबमोजिम कार्य नगरी कम काम भएकोलाई बढी भएको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई १० लाख ९७ हजार ८५२ रुपैयाँ भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

साथै,घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी उपभोक्ता समितिले कार्यसम्पन्न प्रतिवेदन,बिल भरपाई,डोरहाजिरीलगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौताविपरीत सम्झौताबमोजिमको कार्य नभई  भुक्तानी लिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस