जनकपुरधाममा बन्द गराउँदै हिँड्ने प्रभु साहका २३ कार्यकर्ता पक्राउ

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १३ : ००
जनकपुरधाममा बन्द गराउँदै हिँड्ने प्रभु साहका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाम । जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आम जनता पार्टी (आजपा )का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामको विभिन्न स्थानबाट महिलासहित २३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित गरी तोडफोड गर्ने र राष्ट्रिय सभा निर्वाचनलाई प्रभावित पार्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी अवाको भनाई छ ।

बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आजपाले आज मधेश प्रदेशमा आम हडताल घोषणा गरेको छ ।

रौतहट बाहेकका जिल्लामा आम हडतालको प्रभाव भने परेको छैन । आजपाका अध्यक्ष प्रभु साहको गृह जिल्ला हो रौतहट । त्यसैले रौतहटमा हडतालको आंशिक प्रभाव परेको छ ।