जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात : उपेन्द्र यादव

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, २० : ०४
जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात भएको आरोप लगाएका छन् । मंगलबार राजविराजमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनीय कार्यहरू गरिरहेको आरोप लगाए ।

सोमबार अध्यक्ष यादवले सप्तरीमा कृषि विश्वविद्यालय शिलान्यास गर्दा जनमत पार्टीका नेता कार्यकर्ताहरू विरोधमा उत्रेका थिए ।‘राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ, ‘यादवले भने, ‘आफै सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? यो नैतिक प्रश्न हो ।’

जनमत पार्टी सुध्रिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । ‘कि सुध्रिनुपर्‍यो कि सुधार्नुपर्‍यो, ‘यादवले भने, ‘उहाँहरू जुन बाटो हिँड्नुभएको छ, जुन हर्कत गरिरहनुभएको छ यो अशोभनीय हो ।’‘विश्वविद्यालयको शिलान्यासको निर्णय विश्वविद्यालयले गर्ने हो,’यादवले भने, ‘विश्वविद्यालयले निर्णय गरेर हामीलाई बोलायो हामी गयौँ, उहाँहरूलाई पनि बोलाएकै हो, आएर सरिक भएको भए हुन्थ्यो नि, आमन्त्रणलाई लत्याएर प्रतिकार गर्छु भन्नु मूर्खता हो ।’

जनमत पार्टीलाई अब गठबन्धनमा बोक्न सक्ने अवस्था नरहेको जसपा अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया दिनुहोस