काठमाडौं । गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् ।
काभ्रेबाट सांसद बनेकी नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले हप्काएर फिर्ता पठाएका हुन् ।
समानुपातिक कोटाबाट सांसद बनेकी लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए । गुण्डा लामाले ठमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई दबाब दिन बिहीबार सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेपछि एसएसपी सिंहले अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै सांसदहरुको टोलीलाई हप्काएर फिर्ता पठाएका थिए ।
अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी नेकपाकी नेत्रीले लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटान प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोडनुपर्ने निर्देशात्मक दवाब दिएकी थिईन ।
तर एसएसपी सिंहले आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको भन्दै कसैको भनसुनका आधारमा अपराधीलाई छोड्न नसक्ने बताएको सिंहको भनाई उदृत गर्दै स्रोतले जानकारी दियो ।
एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । उनले ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् ।
ठमेलमा गुण्डागर्दी गदै आएका सत्यमान आपराधिक क्रियाकलापमा संलग्न काभ्रेली समुहका सहयोगी हुन । उनलाई अपराध अनुसन्धानको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको थियो । ठमेलमा ब्याबसाय गदै आएका काभ्रे तिमाल-६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको आवाजसहितको उजुरीको आधारमा अपराध अनुसन्धानको टोलीले ठमेलबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस