११ वर्षपछि सर्लाही कारागार सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १५ : ३१
११ वर्षपछि सर्लाही कारागार सञ्चालनमा

बीरगन्ज । सर्लाहीको मलंगवामा लामो समयदेखि बन्द जिल्ला कारागार आजदेखि सञ्चालनमा आएको छ । जीर्ण जिल्ला कारागारको मर्मत सम्भारको कार्य सकिएपछि आजदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलालेखको अनावरण तथा रिबन काटेर उद्घाटन गरेपछि जिल्ला कारागार सञ्चालनमा आएको हो ।

कारागारको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कारागारको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताए । उनले भने,‘कारागारलाई अब तपाइहरु सुधार गृहको रुपमा विकास गर्नुपर्छ, यहाँ योगा सञ्चालन गर्नुपर्छ । ताकी कैदीबन्दीहरुमा सकारात्मक परिवर्तन आओस् ।’ सर्लाहीका सीडीओ कोमल प्रसाद धमलाका अनुसार ०६९ सालको माघमहिनादेखि जीर्ण हुँदा कारागार बन्द गरिएको थियो ।

उनले भने,‘ठेकेदारको लापरबाहीका कारण धेरै समय लाग्यो, किनभने कारागार मर्मतका लागि तीन–तीन पटक ठेक्का गर्नुप¥यो । अनि बल्ल अहिले आएर काम पुरा सकियो,त्यसकारण ढिलाइ हुन गयो ।’ ठेकेदारकै लापरबाहीले ११ वर्षमा यो जिल्लाका कैदीबन्दीहरुलाई सास्ती खेप्नुपरेको थियो,’उनले भने । तर अब त्यो समस्याबाट जिल्लाका कैदीबन्दीहरु छुटकारा मिलेको सीडीओ धमलाले बताए ।

मलंगवामा रहेको जिल्ला कारागार सञ्चालन आए लगत्तै रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको सीडीओ धमलाले बताए । सर्लाही कारागार ८ कट्ठा साढे १९ धुर क्षेत्रफलमा फैलिएको छ । मर्मत सम्भार भइ सञ्चालनमा आएको सर्लाही कारागारमा अहिले पानीको पर्याप्त व्यवस्था हुनुको साथै सुविधा सम्पन्न चमेनागृह, प्रजनन् कक्षसहित शौचालयको समेत व्यवस्था गरिएकोक सीडीओ धमलाले जनाए । यो कारागारमा १६० जना पुरुष र ५० जना महिला गरी २१० जना अट्ने क्षमता रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । कारगारभित्र मर्मत भइरहँदा यहाँ कैदीलाई सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस