नेविसंघका २० जनाभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : २१
नेविसंघका २० जनाभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ

काठमाडौं । निषेधाज्ञा खारेजीको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । सोक्रममा प्रहरीले २० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच तँछाडमछाडसमेत भएको थियो । २ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर-माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।