हेटौंडा । बागमती प्रदेश सरकारले दुर्गम तथा विकट क्षेत्रमा स्वास्थ्य उपचार सेवा पुर्याउन चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
पुस २२ गते बसेको मन्त्रिपरिषद्ले दुर्गम क्षेत्रका चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले निर्माण गरेको कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । २२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको हो ।
प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको स्वास्थ्य मन्त्री उत्तम जोशीको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सो कार्यक्रम कार्यान्वयन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न र स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन उक्त निर्णयले महत्त्वपूर्ण साबित हुने मन्त्रालयको विश्वास रहेको छ । मन्त्री जोशीका अनुसार स्वास्थ्यकर्मीलाई प्रोत्साहन उपलब्ध गराउने निर्णयले प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन भूमिका खेल्ने छ ।सो कार्यक्रम प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा सञ्चालन गरिने छ ।
सो कार्यक्रम कार्यान्वयनका लागि १० जिल्लालाई ३ वर्गमा विभाजन गरी प्रोत्साहन भत्ताको दर निर्धारण गरिएको छ । जसमा रसुवा, दोलखा र रामेछाप एउटा वर्गमा रहेका छन् भने नुवाकोट, सिन्धुली, धादिङ, काभ्रे अर्को र सिन्धुपाल्चोक, चितवन र मकवानपुरको अर्को वर्गमा रहेका छन् ।
कार्यविधि अनुसार महिनाको २६ कार्य दिन हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई शत प्रतिशत प्रोत्साहन भत्ताको सुविधा उपलब्ध गराइने छ भने २६ कार्य दिन भन्दा कम हाजिर भई कामकाज गरेमा प्रतिदिन ३.५ प्रतिशतका दरले प्रोत्साहन भत्ता कट्टा गरेर रकम प्रदान गरिने छ । १५ कार्य दिन भन्दा कम हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई कार्यविधि अनुसारमा प्रोत्साहन सुविधा उपलब्ध नहुने व्यवस्था गरिएको कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण