राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहित लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १२ : ५०
राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहित लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।निर्वाचन आयोगका अनुसार आजबाट माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू हुनेछ ।​

 

संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि निर्वाचन हुँदैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उक्त अवधिमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन ।

 

 

यस्तै, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उनले बताए ।

यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन तथा प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानूनी व्यवस्था छ।

साथै आचारसंहिता अवधिभर ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नमिल्ने आयोगले जनाएको छ ।

आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,  सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।