गठबन्धन टुट्ने हल्ला भ्रम हो : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १४ : ३६
गठबन्धन टुट्ने हल्ला भ्रम हो : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन भत्किने र टुट्ने हल्लामा सत्यता नभएको बताएका छन् । ​

 

शंखरापुर नगरपालिकामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सबै खालको निराशा र विरोधलाई चिर्नुपर्छ । विरोधीको सामना गर्नुपर्छ । गठबन्धन टुट्छ भत्किन्छ भनेर कसैले भ्रम फैलाउँछ भने यो सही होइन’, नेपालले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ । ढुक्क भएर बस्नुस् । केही हुँदैन ।’

अध्यक्ष नेपालले केन्द्र र प्रदेशका मन्त्रीको कार्यसमीक्षा गरिरहेको पनि बताए । नागरिकले निराशा देखाएर आलोचना गरे पनि आफूहरूले अनुचित काम नगरेको उनले बताए।

पार्टीका संरचनालाई चलायमान गराउने गरी क्रियाशील बनाउने उनले बताए । 'पार्टीको बढेको आलोचनाको सम्बोधन हुन्छ, कुनै अनुचित काम गरेका छैनौं', उनले भने ।

 

माओवादीसँग एकता भएपछि नेकपाले झन्डै दुई तिहाइ बहुमत पाए पनि जोगाउन नसकिएको उनले बताए । तर पार्टीभित्रै नटेर्ने अरूसँग गोप्य साँठगाँठ गर्ने स्वार्थले बहुमत टुटेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस