नेप्से एकल अंकले बृद्धि, ५ अर्बको शेयर कारोबार

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १५ : २८
नेप्से एकल अंकले बृद्धि, ५ अर्बको शेयर कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से एकल अंकले बृद्धि भयो । यस दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से २०.२९ अंकले बढेर २०७९ विन्दुमा पुगेको थियो । स्टक मार्केटमा बुधबार एक करोड ३४ ललाख ७७ हजार ८०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४७ लाख ७८ हजार ६१९ रुपैयाँको कारोबार भयो । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबारदेखि लगातार उकालो लाग्ने क्रममा रहेपनि उपसूमहरुमा उतारचढाव कायमै छ ।

मंगलबार तेहरो अंकको वृद्धि देखिएको जीवन बीमा उपसमूह बुधबार दोहोरो अंकले ऋणात्मक देखिएको छ । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा उपसमूह पनि दोहोरो अंकले ऋणात्मक देखिएका छन् ।

यस्तै, वित्त र लगानी उपसमूह पनि ऋणात्मक भएका छन् । यस दिन बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहमा भने दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार ऋणात्मक देखिएको म्युचुअल फण्ड सामान्य बढ्दा व्यापार उपसमूहमा पनि सामान्य उत्साह छाएको छ ।

प्रतिक्रिया दिनुहोस