काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सुकुमबासी तथा अव्यवस्थित बसोबासी बस्तीमा गरिएको हटाउने अभियानबाट प्रभावित नागरिकका लागि तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारहरू कठिन अवस्थामा रहेको उल्लेख गरे। होल्डिङ सेन्टरमा राखिएका नागरिकले आधारभूत आवश्यकता, विशेष गरी खाद्यान्न र खानेपानीको अभाव झेलिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद राईले प्रभावित परिवारहरूलाई दीर्घकालीन समाधानका रूपमा व्यवस्थित पुनर्वासको व्यवस्था गर्नुपर्ने बताए। सुकुमबासी समुदायले आफूहरू बसोबास गर्दै आएको स्थानमै योजनाबद्ध सहरी विकासमार्फत पुनर्स्थापना चाहेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
उनले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे आफ्नो दलले उठाउँदै आएको विषय पनि दोहोर्याए। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग कायम रहेको र त्यसबारे प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो।
राईले सहर व्यवस्थापनका लागि विनियोजित बजेटलाई पुनर्वास कार्यक्रमसँग जोडेर प्रयोग गर्न सकिने सुझाव पनि दिए। प्रभावित बस्तीहरूलाई व्यवस्थित ढंगले विकास गरी पुनर्स्थापना गर्न सके सरकारको पहल प्रभावकारी र उदाहरणीय बन्ने उनले बताए।
विस्थापित नागरिकको जीवनयापन सहज बनाउन तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्वास योजना अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई हर्कराज राईको आग्रहः संघीयतासम्बन्धि सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्