विराटनगर । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएकामा झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घले, इलामकी रजनी मेचे तथा सुनसरीका मेचीमाया धिमाल र रुक्मिणी कोइराला छन् ।
राष्ट्रिय सभामा हाल सदस्य रहेका काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिँदैछ । त्यही दुई सिटका लागि ११ माघमा निर्वाचन हुन लागेको हो ।
यसअघि नेपाली काँग्रेसले कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य र डिला संग्रौलासहितको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले पनि ७ जनाको नाम सिफारिस गरेको छ । अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायतको नाम माओवादीले सिफारिस गरेको हो । राष्ट्रिय सभाका लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।
प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरूतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।
१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, काँग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली काँग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी