चितवन । नारायणी नदीले कटान गरेको साविक मेघौली गाविस हाल भरतपुर महानगरपालिका वडा नं २७ र २८ मा महानगर प्रमुख रेनु दाहालले स्थलगत अवलोकन गर्नुभएको छ ।
महानगर प्रमुख रेनु दाहालसहित चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौर, जनपथ प्रहरी, सशस्त्र प्रहरीलगायतले पनि कटान क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । नारायणी नदी कटानले बस्तीहरु डुबानमा पर्ने खतराको सूचना पाएको एक घण्टामा तत्काल भरतपुर महानगरपालिकाको कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

महानगर प्रमुख रेनु दाहालले कटान क्षेत्रमा सम्पूर्ण स्रोत र साधनको जनशक्ति प्रयोग गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नारायणी नदीको आएको बहाबले जग्गा कटान गर्न थालेको सूचना पाउनेबित्तिक्कै स्थलगत अवलोकन गरेका छौँ र तत्काल सम्पूर्ण स्रोत साधनको परिचालन गर्न भनेका छौँ ।’

उहाँका अनुसार नदी कटान नियन्त्रण गर्न महानगरले सम्पूर्ण स्रोत साधन प्रयोग गरेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनालाई कटान नियन्त्रणको लागि खटाएको मेयर रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कटान क्षेत्रका वरिपरिका बासिन्दालाई तयारी अवस्थामा रहन भनेका छौँ, वडाध्यक्षहरु जुटिरहनुभएको छ ।’
प्रतिक्रिया दिनुहोस