परराष्ट्रमन्त्री साउदले विपिनका आमाबुवासँग भने – छोराको रिहाइका लागि प्रयासरत छौं

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १५ : ४६
परराष्ट्रमन्त्री साउदले विपिनका आमाबुवासँग भने – छोराको रिहाइका लागि प्रयासरत छौं

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।आज महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए ।

 

‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौं’, उनले भने, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्ध विराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे ।

त्यस अवसरमा विपिनका आमाबुवाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौं ।’ उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रुपमा अघि बढिरहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो’, मन्त्री साउदले भने, ‘परराष्ट्र नीति छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलित रुपमा अघि बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस