चिसोको चपेटामा भूकम्प पीडित, ३ बालबालिकासहित ३० जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १४ : ३६
चिसोको चपेटामा भूकम्प पीडित, ३ बालबालिकासहित ३० जनाको मृत्यु

जाजरकोट। गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् ।अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् ।

 

त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधवार ज्यान गुमाउनुपर्‍यो ।मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी थिइन् । ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, कल्पनाका श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिएन ।’

 

 

 

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे । ‘सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं’, सुनारले भने ।

चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको निधन भएको स्वास्थ्यकर्मी बताउँछन् ।

चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताइन् । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताइन् ।

चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताइन् । चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन् ।

त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनले बताइन् । नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए ।

प्रतिक्रिया दिनुहोस