घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १६ : ३२
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन। बिहीवारबाट काठमाडौंमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन।

उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रुपमा कानूनी सुधारका कार्यहरु गर्दै आएको बताइन् । उनले भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरेको दाबी गरिन्। उनले रियल स्टेट क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले प्रभावकारी भूमिबजार प्रणालीको स्थापनाले घरजग्गा कारोबार निष्पक्ष, पारदर्शी एवं सहज भइ यस क्षेत्रमा विश्वास र स्थायित्वको वातावरण सिर्जना हुने भएकाले भूमि बजार सम्बन्धी कानून निर्माणतर्फ पनि अघि बढीरहेको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस