विद्युत् नकाट्न आदेश गरेको ६ उद्योगबाट ४ अर्ब बक्यौता उठ्न बाँकी

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १५ : २०
विद्युत् नकाट्न आदेश गरेको ६ उद्योगबाट ४ अर्ब बक्यौता उठ्न बाँकी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन धमाधम काट्न थालेपछि उच्च अदालत पाटनमा परेको टिमा केही उद्योगहरुको लाइन नकाट्न अन्तरिम आदेश जारी भएको थियो ।

ती उद्योगहरुबाट हालसम्म ४ अर्ब ३९ लाख ९५ हजार १७२ रुपैयाँ १२ पैसा बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

रघुपती जुट मिल, विराटनगरबाट २१ करोड ८ लाख ४२ हजार रुपैयाँ, अरिहन्त मल्टीफाईवर लि. दुहवीबाट १८ करोड ६ लाख ६७ हजार रुपैयाँ, अरिहन्त पोलीप्याक लि.दुहवीबाटै ५ करोड ९५ लाख ९६ हजार रुपैयाँ, मारुती सिमेन्ट प्रा.लि.मिचैयाबाट ९७ करोड ९२ लाख ५९ हजार रुपैयाँ, युनाइटेड सिमेन्ट प्रा.लि.धादिङबाट २९ करोड ४६ लाख ६२ हजार रुपैयाँ र शिवम् सिमेन्ट हेटौडाबाट २ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

मंसिर मसान्तसम्म सबै ६१ वटा उद्योगहरुबाट डेडिकेटेट र ट्रंक रुट उपभोग गरे बापत कूल २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपैयाँ १२ पैसा उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।