ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, २० : २१
ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा

 काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे ।

यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए ।यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए ।

३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो ।ललितपुरले एनएसएल इतिहासमा चौथो खेलमा आएर काठमाडौं विरुद्ध गोल गर्दै खेल जितेको हो ।

फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्ने छ ।लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग टाइब्रेकरमा पराजित भएको थियो । बिहीबारको खेलको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस