कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, १५ : ४०
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको छ । कोशी प्रदेश समितिले सो नामहरू सिफारिस गरेको हो । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना छन् । पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ ।

यसैगरी पूर्वसङ्घीय सांसद डिला सङ्ग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा काँग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ ।

बैठकले काँग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस