टीआरसी विधेयकमा तीन दलका शीर्ष नेताबीचको छलफल सकारात्मक

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, २० : २२
टीआरसी विधेयकमा तीन दलका शीर्ष नेताबीचको छलफल सकारात्मक

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरूको सत्य निरूपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुङ्गो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।

तर उक्त विधेयकमा सरकारले गरेका केही प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएका कारण विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किरहेको छ । सोही विधेयकलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको बैठक राखेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक भएको छ । यद्यपि यो विषयमा शीर्ष नेताहरुबीच अझै केही छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस