दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्गको काम छिटो सक्न प्रचण्डको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, ११ : ५१
दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्गको काम छिटो सक्न प्रचण्डको ध्यानाकर्षण

काठमाडौं। रोल्पाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले शहीद मार्गको काम छिटो सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त' नेतृत्वको प्रतिनिधि मण्डलले बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्ग निर्माणमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

 

आर्थिक वर्ष ०६४/०६५ देखि शुरू दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएपछि प्रचण्डको ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।

 

नेता पुनका अनुसार उक्त सडकखण्डअन्तर्गत होलेरी–दारबोट कालोपत्रेको चरणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम शुरू भए पनि बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन सकेको छैन ।

 

 

यस्तै हुकाम–मैकोट खण्डमा ट्रयाक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

प्रतिक्रिया दिनुहोस