काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो १२ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए । ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेसहित गठबन्धन र सिट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने ।
पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ । महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ । शुक्रबारको बैठकले त्यसबारे समेत टुङ्गो लगाउने नेताहरूले बताएका छन् ।
कांग्रेसले महासमिति बैठक यसअघि मङ्सिर १३ देखि १५ भित्रै गर्ने मिति तोकेको थियो । तर तयारी नपुगेको भन्दै स्थगित गरेर पुस १६-१९ मा सारेको हो । महासमिति बैठक कांग्रेसको महाधिवेशनपछिको ठुलो संरचना हो । महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता प्रतिनिधिकारुपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल