हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलको पार्श्व गायन

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १० : ५७
हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलको पार्श्व गायन

काठमाडौँ । गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ । 

 

आइतबार राति सोनी टेलिभिजनमा प्रसारित शोमा मेनुका आफैले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएकोमा खुसी साटेकी हुन् । सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो । कार्यक्रममा उनलाई निर्णायकहरुले बधाई समेत दिएका थिए । 

 

मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ ।

यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो’, उनले खुसी साट्दै भनेकी छन्।‘इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी  उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ ।

मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने फिल्म ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी हुन् ।

‘सलार’को गीतले उनलाई बलिउड फिल्मको पार्श्व गायनमा पनि खाता खोलेको छ । 

प्रतिक्रिया दिनुहोस