लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु, २९ जना बिरामी

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, ११ : ४०
लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु, २९ जना बिरामी

file Photo

लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन्। बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए।

त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्।

भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।

भोजमा उनीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस