धितोपत्र बोर्डले आइपिओ, हकप्रद, एफपीओ निष्काशन स्थगन तत्काल खोल्नुपर्छ : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १३ : ०५
धितोपत्र बोर्डले आइपिओ, हकप्रद, एफपीओ निष्काशन स्थगन तत्काल खोल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपिओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताएका छन । महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आइपिओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आइपिओ निष्काशन स्थगित गर्नु नहुने बताए ।

अध्यक्ष ढकालले संघीय, प्रदेश र स्थानीय सरकारहरुले समेत लगानी सम्मेलन गरिरहेको बताए । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरु आइपिओ निष्काशनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए । उनले मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरु पूरा गरेका कम्पनीहरुको आइपिओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन समस्या पर्ने थालेको बताए ।

उनले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आइपिओ निष्काशन तत्काल अनुमति दिन आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आइपिओ निष्काशनको लागि तयारी गरेका कम्पनीहरुलाई अटो पाइलटको रुपमा आइपिओ निष्काशनमा जाने व्यवस्था गर्नुपर्ने बताए। उनले सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताए ।

उनले सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रुपमा आइपिओ निष्काशन अनुमति दिन आवश्यक रहेको बताए । उनले समग्र लगानी र सरकारले लिन खोजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आइपिओ निष्काशन रोक्दा गलत सन्देश जान लागेको बताए । उनले आइपिओ निष्काशन रोक्दा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भन्दै सरकारले तत्काल प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई आइपिओको अनुमति दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस