बुटवल र चितवनको खेल बरबराबरीमा सकियो

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, २० : ४८
बुटवल र चितवनको खेल बरबराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् । खेलको दोस्रो हाफको अत्तिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो । बुटवलका मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गर्न सफल भए । 

त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए । खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।  यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ । उक्त लिगअन्तर्गत भोलि वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस