नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, ११ : ५०
नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बुधवार विहान आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि मङ्सिर १० गतेदेखि १३ गतेसम्म आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट पछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । 

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । यो बाहेक बाँकी रहेको शेयरमध्ये पनि २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो ।

सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये ११ लाख ९१ हजार ९९८ जनाको आवेदन मात्र रितपूर्वक भएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । रितपुर्वक नभएको भन्दै ८४ हजार ५६० जनाको आवेदन भने रद्द भएको समेत विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले योग्य आवेदकहरूलाई सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । भाग्यमानी १ लाख १४ हजार १२५ जना आवेदकहरूले १० कित्ताका दरले शेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस